images
images

विद्युतीय पोल भाँचिएपछि दोलखा र रामेछापका ६ स्थानीय तह दुई दिनदेखि अन्धकार

  • १० माघ २०७८, सोमबार ०३:०७

जिरी (दोलखा) । हिजो बेलुकीदेखि विद्युत अवरुद्ध हुँदा दोलखा र रामेछापको ६ स्थानीय तह अन्धकार बनेको छ ।

जिरीमा एकै पटक तीन वटा विद्युतको पोल भाँचिएपछि जिल्लाको जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोशी तथा गौरीशंकर गाउँपालिका र रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका अन्धकारमय बनेको हो । बेलुकी करिब ७ बजे रुख ढलेर ३ वटा पोल भाँचिन पुग्दा विद्युत अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण दोलखाका सुचना अधिकारी एवम् इन्जिनियर राजेन्द्र चौधरीले जानकारी दिनुभयो । जिरी सवस्टेशनका अनुसार सवस्टेशन नजिकै जिरीको लाकुरीडाँडामा पोल भाँचिएर विद्युत अवरुद्ध भएको हो । अहिले विद्युत प्रवाह गर्न मर्मतको लागि प्राविधिकहरु खटिएको सुचना अधिकारी चौधरीले बताउनुभयो । तीन वटा पोल एकै पटक भाँचिएकोले पोल फेर्न धेरै समय लाग्ने भएपछि वैकल्पिक उपायमार्फत विद्युत प्रवाह गर्ने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ ।

जिरीमा हिजो बेलुकीदेखिनै विद्युत अवरुद्ध हुँदा मोबाईल एन्टिसी सेवा पनि ठप्प हुन पुगेको छ । जिरीमा लामो समय विद्युत अवरुद्ध हुँदा यसअघिदेखिनै नेपाल टेलिकमको एन्टिसी मोबाईल सेवा पनि ठप्प हुँदै आउने गरेको थियो । नेपाल टेलिकमले लामो समयदेखिको यो समस्या समाधान गर्न नसक्दा उपभोक्ता विद्युत र टेलिकमको सेवाबाट एकै पटक बञ्चित हुन पुग्नुपर्ने अवस्था रहेको हो ।