images
images

जिरीको ढुङ्गेखोलामा ४ करोडको सडक पुल, निर्माण सुरु भएको ६ वर्षमा पनि सम्पन्न भएन

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित ढुङ्गेखोलामा पुल निर्माण सुरु भएको करिब ६ वर्ष भइसक्दा समेत अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

जिरी नगरपालिका वडा नम्बर ५ स्थित ढुङ्गेखोलामा पाँच वर्ष अघि निर्माण सुरु भएको सडक पुल अझै सम्पन्न हुन नसकेको हो । जिरीको ढुङ्गेखोलामा पुल निर्माणका लागि सडक डिभिजन कार्यालय चरिकोटले २०७४ साल बैशाखमा खम्बाचे नाइल जेभि कम्पनीसँग सम्झौता गरेको थियो । अहिले सम्झौताको ५ वर्ष ९ महिना भइसकेको छ । तर, सो पुल हाल निर्माणाधीन अवस्थामा रहेको छ । केही वर्ष अघि अलपत्र अवस्थामा छाडिएको सो पुलको निर्माण कार्य हाल भइरहेको छ । ठेकेदार कम्पनीको आलटाल तथा ढिलाईका कारण निर्माण सुरु भएको लामो समयसम्म पनि पुल निर्माण कार्य अझै सम्पन्न हुन नसकेको जिरी ५ का वडाध्यक्ष नरबहादुर जिरेलले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष सडक डिभिजन कार्यालय चरिकोटले समयमै पुल निर्माणको काम सम्पन्न नगर्ने निर्माण कम्पनिलाई तत्काल काम सुचारु नगरे कारबाही गर्ने चेतवानी समेत दिएको थियो । त्यसको केहि समय पछि पुनः काम सुचारु गरेको निर्माण कम्पनीले अहिले धमाधम काम गरिरहेको छ । अहिले पुलको स्याल्प ढलानको काम भइरहेको छ । आगामी तीन महिनाभित्र पुल निर्माण सम्पन्न हुने गरी काम भइरहेको खम्बाचे नाइल जेभी कम्पनीका ठेकेदार डेण्डी शेर्पाले जानकारी दिनुभयो । कोरोना महामारी, सामान अभाव लगायतका कारण पुल निर्माणमा ढिलाई भएको उहाँले बताउनुभयो ।

तर, आगामी महिनाभित्र ढुंङ्गे खोला पुल निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीको भनाई छ । सो पुल सडक डिभिजन कार्यालय चरिकोटमार्फत ३ करोड ९८ लाख भन्दा बढी लागतमा निर्माण भएको हो । त्यहाँ समयमै पुल निर्माण नहुँदा बर्षाको बेला स्थानीयले सास्ती व्यहोर्दे आएका छन् । ढुंङ्गखोला पुल निर्माणसँगै स्थानीय बासीलाई आवतजावन गर्न र सवारीका साधनलाई सहज हुनेछ ।

यसअघि अघिल्लो वर्ष मात्रै लामो समयपछि जिरी वडा ६ र ७ को सिमानामा सिक्रीखोला पुल र जिरी ९ स्थित तामाकोशीसँग सिमाना जोडिएको क्षेत्रमा झाक्रेखोला पुल निर्माण भएको थियो ।