images
images

बागमती प्रदेशमा ११ मन्त्रालय हुने, भोली मन्त्रीपरिषदले पूर्णता पाउने

  • १० माघ २०७९, मंगलवार २०:२७

काठमाडौं । बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने भएको छ ।

बागमती प्रदेश सरकारले १४ बाट ३ मन्त्रालय घटाएर ११ मा कायम गरेको हो । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । यो सँगै भोली बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय घटाउने निर्णय गर्नुभएको थियो भने ५ सदस्यीय कार्यदल समेत गठन गरिएको थियो । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको सो कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । भोली सरकारलाई पूर्णता दिन मन्त्रिपरिषदमा ८ जना मन्त्री नियुक्त गरिनेछ । दलहरुभित्र आन्तरिक छलफल गरी भोली दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ । ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने भएको छ । प्रदेशको गठबन्धनबाट एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी आउट भएका छन् ।