images
images

अनेरास्ववियु क्रान्तिकारीको निर्वाचनः ३३ सदस्यीय पदाधिकारीका लागि १६५ जना चुनावी मैदानमा

  • ११ माघ २०८१, शुक्रबार १५:१८

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको ३३ सदस्यीय पदाधिकारीका लागि १६५ जना विद्यार्थी नेता चुनावी मैदानमा उत्रिएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय समितिको भोली हुने निर्वाचनमा ३३ पदाधिकारीका लागि १६५ जनाको उम्मेदवारी परेको हो । केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अनलाईन प्रणालीबाट दर्ता भएको मनोनयन अनुसार अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विशवमणी थापा र योगेन्द्र बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, खुला र आरक्षण गरि ९ उपाध्यक्षका लागि ४४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्य ४ खुला उपाध्यक्षका लागि मात्रै १९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षपछिको कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी परेको छ भने विभिन्न प्रदेशतर्फबाट निर्वाचित हुने ९ पद रहेको उपमहासचिवमा ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, खुला र विभिन्न आरक्षणसहित १२ सचिव पदका लागि ६१ जनाको र कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । अखिल क्रान्तिकारीको विधान अनुसार २४३ सदस्यीय केन्द्रीय कमिटिमा ३३ जना पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ जना केन्द्रीय सदस्य रहनेछन् । २३ औँ राष्ट्रिय सम्मेलन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि भोली मतदान हुनेछ ।