
जिरी (दोलखा) । दोलखाबाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुले १० करोड ५० लाख बजेट विनियोजन गरेका छन् ।
बागमती प्रदेश सभामा जिल्लाबाट निर्वाचित सांसदहरुले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी (शिक्षा तर्फ) बजेट विनियोजन गरेका हुन् । जसअनुसार सबैभन्दा बढी दोलखा प्रदेशसभा ‘क’ बाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का मार्फत जिल्लाका ५ वटा पालिकाका लागि प्रदेश पूर्वाधार साझेदारी कार्यक्रममा ३ करोड बजेट विनियोजन भएको छ ।
यसैगरी प्रदेश सभा ‘ख’ प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको तर्फबाट पनि ३ करोड बजेट प्रदेश पूर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रमका लागि विनियोजन भएको छ । दोलखाबाट प्रदेशसभा ‘ख’ मा स्वर्गीय नेता पशुपति चौलागाई निर्वाचित भएका थिए । गत वैशाखमा कोरोनाका कारण निधन भएका सांसद चौंलागाईको नाम बजेट विनियोजन भएको लिस्टमा नराखिए पनि प्रदेशसभा ‘ख’ प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य मार्फत ३ करोड बजेट विनियोजन भएको उल्लेख छ । यसैगरी प्रदेशसभा ‘ख’ मा निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य रचना खड्का मार्फत प्रदेश पूर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी (शिक्षातर्फ) १ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
जिल्लाबाट निर्वाचित अन्य तीन जना सांसदहरु मार्फत १/१ करोडका दरले बजेट विनियोजन भएको छ । प्रदेशसभा ‘क’ बाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य आङदेण्डी शेर्पा, हिमाली गोले र सरस्वती बस्नेतमार्फत १÷१ करोड बजेट विनियोजन भएको हो । जिल्ला समन्वय समितिले बुधवार बजेट सहितको कार्यक्रमको विवरण पठाएको हो । कार्यक्रम परामर्श बमोजिम निर्देशक समितिको मंसिर २७ र २८ गते बसेको बैठकको निर्णयअनुसार छनौट गरिएका कार्यक्रमहरु सञ्चालन गर्नेगरी बाँडफाँड गरेको जिल्ला समन्वय समितिको कार्यालय दोलखाले जनाएको छ ।