images
images

माथिल्लो तामाकोशीको बिजुली किन्न भारत सहमत

  • १२ फाल्गुन २०७८, बिहीबार १६:४३

काठमाडौं । दोलखामा रहेको नेपालकै सवैभन्दा ठुलो ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सहितका आयोजनाहरुको विद्युत खरिद गर्न भारत सहमत भएको छ ।

स्वदेशी लगानीमा निर्माण गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी सहित नेपालका थप आयोजनाहरुको विजुली किन्न भारत सहमत भएको हो । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को आज काठमाडौंमा सम्पन्न नवौं बैठकमा भारत नेपालका थप आयोजनाहरुको विजुली किन्न सहमत भएको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले नेपालले प्रस्ताव गरेका माथिल्लो तामाकोशी,कालीगण्डकी, मर्याङदी, मध्यमर्याङदी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको जानकारी दिनुभयो । स्वदेशि लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोशीको विजुली किन्न भारतले सहमति नदिएपछि वर्षायाममा सो आयोजनाबाट उत्पादित विजुली खेर गएको थियो । जसका कारण नेपाललाई ठुलो रकम घाटा लागेको छ ।

नेपालले गत कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’ को अवधारणामा ‘इन्डियन इनर्जी एक्सचेन्ज’ आईईएक्समा विजुली बेच्न थालेको थियो ।आईईएक्समा बिजुली बच्न बाटो खुलेसँगै नेपालले विभिन्न ८ वटा आयोजनाको साँढे ८ सय मेगावाटभन्दा बढी बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ । तर यसअघि भारतले २४ मेगावाटको त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो । नेपाल–भारत उर्जा सचिवस्तरीय बैठकमा भारतको बंगाल राज्यसँग नेपालको विद्युत कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त कार्यदल बनाएर अध्ययन गर्ने बारे दुई देशबीच सहमति भएको छ । यस्तै नेपाल र भारतबीच संयुक्त लगानीमा जलविद्युत आयोजना बनाउनका लागि कार्यदल पनि गठन भएको छ ।