
दोलखा । तालाबन्दीपछि दोलखा उद्योग वाणिज्य संघको भोली हुने भनिएको निर्वाचन अन्योलमा परेको छ ।
संघको कार्यालयमा हिजोदेखि लागेको ताला खुलेको छैन भने निर्वाचनका विषयमा कार्यसमितिमा सहमति पनि जुटेको छैन । जसका कारण उद्योग बाणिज्य संघको भोली हुने भनिएको निर्वाचन अन्योलमा परेको छ । संघको वर्तमान कार्यसमितिले अवैध ढंगबाट निर्वाचन समिति बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा हिजोदेखि तालाबन्दी गरेका हुन् । कार्यसमितिमा ताला खुलाउने र सहमति अनुसार निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा छलफल भइरहेको छ । तर अझै सहमति जुटेको छैन । जसका कारण उद्योग वाणिज्य संघको भोली हुने निर्वाचन प्रभावित हुने देखिएको छ ।
दोलखा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष ईन्द्र श्रेष्ठले तोकिएको समयमा निर्वाचन गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । यस्तै उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार दिनेश बस्नेतले निर्वाचनका विषयमा छलफलमै रहेको बताउनुभएको छ । सहमतिमै जाने विषयमा छलफल सकारात्मक हुँदै गएको उहाँको भनाई छ । दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले पनि अध्यक्षका दावेदार मानिएका प्यानलबीच भएको छलफल सकारात्मक भएकाले उद्योग वाणिज्य संघको निर्वाचन तोकिएकै समयमै हुने विश्वास व्यक्त गर्नुभएको छ ।