images
images

दोलखा रेडक्रसमा १७ सदस्यीय नयाँ नेतृत्व, सभापतिमा दहाल

  • १२ फाल्गुन २०७९, शुक्रबार १८:०१

दोलखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको १३ औं अधिवेशनले ईश्वरी प्रसाद दहालको सभापतित्वमा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आज सम्पन्न ४१ औं जिल्लासभा तथा १३ औं अधिवेशनले सर्वसम्मत दहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उप–सभापतिमा बाबुकाजी बस्नेत, महिला उप–सभापतिमा रिता रिमाल, मन्त्रीमा भरत नारायण प्रधान, कोषाध्यक्षमा भीमबहादुर केसी, उप–मन्त्रीमा तामप्रसाद आपागाईँ र उप–कोषाध्यक्षमा खड्कध्वज खत्रीलाई चयन गरेको छ । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका तत्कालिन सभापति गोकर्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनको उद्धघाटन सत्रमा नेपाल रेडक्रस बागमती प्रदेशसभापति भोलानाथ रुपाखेती, भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, नेकपा माओवादी केन्द्र दोलखाका सचिव कमल श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।