images
images

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु, एक महिनामा तीन जनाले ज्यान गुमाए

बैतडी । बैतडीमा एक महिना अवधिमा  बैतडीमा तीन निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ ।

आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट  छन्।

जिल्ला प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएका थिए। बेहोस भएपछि उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र लगिएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको थियो । यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको थियो । उनी घरमै अचेत भएर ढलेका थिए ।

यसैगरी गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।