images
images

खुकुरी प्रहार गरेको आरोपमा दोलखाका एक सहित पाँच जना पक्राउ

  • १० चैत्र २०७८, बिहीबार १३:१९

काठमाण्डौ । काठमाडौंको शंखमूलमा दिनदहाडै एक व्यक्तिमाथि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा दोलखाका एक सहित पाँच पक्राउ परेका छन् ।

प्रहरीले दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका रोशन लामा, रामेछापको मन्थली नगरपालिका १३ घर भई हाल काठमाडौंको जडिबुटीमा बस्दै आएका १९ वर्षीय राजेश बुढाथोकी, खाँडादेवी गाउँपालिका ३ घर भई जडिबुटी बस्दै आएका २७ वर्षीय संजीव मोक्तान, सिन्धुपाल्चोकका प्रवीण नेपाल र भक्तपुरको थिमीका पुकार केसीलाई पक्राउ गरेको हो । हिजो १० जनाको समूहले सुरज खड्का नाम गरेका युवकलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय खड्का घाइते भएका थिए । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खड्कालाई खुकुरी हान्ने घटनामा संलग्न भएका भनिएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आर्थिक लेनदेन र प्रेमिका खोसेको निहुँमा खड्कामाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । शंखमुलस्थित एक फलफूल पसल अगाडि तीन वटा मोटरसाइकलमा आएका युवाहरूले खड्कालाई खुकुरी प्रहार गरी फरार भएका थिए । पक्राउ परेका उनीहरुलाई ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइएको महानगरी अपराध महाशाखाले जनाएको छ ।