images
images

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • १० चैत्र २०७८, बिहीबार १९:५२

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथि जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । हिजो र आज भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । पीडितले आफूमाथि पटक पटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते मुद्दा दर्ता गरेको थियो ।

यस्तै, अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जोशीमाथि अभिनेता शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोग दर्ता गरेको थियो ।