images
images

बागमती प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने

  • १० चैत्र २०७९, शुक्रबार ०८:०१

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजेपछि बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नुभएको छ  । प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले आज पुनः विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि जम्कट्टलले माघ ३ गते कांग्रेस, एमाले, राप्रपा सहित ६ दलको समर्थनमा विश्वासको मत प्राप्त गर्नुभएको थियो । यसअघि बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित गरिएको थियो । नेकपा एमाले सहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि पुन विश्वासको मत लिन लाग्नुभएको हो । नेपाली कांग्रेसभित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि बुधवार बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । विवादका कारण प्रदेशसभा बैठक स्थगित गरिएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने देखिएको छ ।

बागमती प्रदेशसभामा १ सय १० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदको साथ आवश्यक पर्नेछ । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकिकृत समाजवादीका ७ जना सांसद छन् । यस्तै नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् ।