images
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

  • १० चैत्र २०७९, शुक्रबार १७:२६

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत पर्‍यो भने ७ जना सांसद तटस्थ बसेका छन् । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो । जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उहाँले दोस्रोपटक विश्वासको मत पाउनुभएको छ ।केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले आज पुनः विश्वासको मत लिनुभएको हो ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिनुभएको थियो। अब प्रदेश सभामा नेकपा एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा रहनेछन् । संसदको सबैभन्दा ठुलो दल भएर पनि सरकारबाहिर रहेको नेपाली कांग्रेसको भने सरकारमा जाने भएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बताउनुभएको छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।