images
images

एसईईमा चिट चोराउन ह्वाट्सएप ग्रुप, परीक्षा गार्ड निष्काशित

  • ११ चैत्र २०८१, सोमबार १६:३५

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पुष्टी भएको छ ।

एसईई परीक्षामा चिट चोराउनका लागि मोबाईल मार्फत ह्वाट्सएप प्रयोग गरिएको पुष्टी भएको हो । सुनसरीको एक परीक्षा केन्द्रबाट ह्वाट्सएप प्रयोग गरि चिट चोराउने कार्यमा संलग्न दुई जना गार्ड पक्राउ परेका छन् । सुनसरी सदरमुकाम ईनरुवा–९ स्थित सरस्तवी मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई परीक्षा चलिरहँदा ह्वाट्सएप मार्फत चिट चोर्न सहयोग गर्ने गार्डलाई नियन्त्रणमा लिईएको हो ।

परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअ सहितको टोलीलाई देखेपछि परीक्षामा गार्ड बसेका शिक्षकले मोवाईल अफ गरेका थिए । उनीहरुको मोबाईल जाँच गर्दा परीक्षा केन्द्रमा खटाईएका प्रावि शिक्षकको साथमा रहेको मोबाईलबाट चिट चोर्न र चोराउन ह्वाट्सएप मार्फत च्याट गरिएको भेटिएको थियो । पक्राउ परेका शिक्षकहरु श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

सुनसरीका अन्य परीक्षा केन्द्रबाट पनि मर्यादा विपरित कार्य गरेको भन्दै केही निरिक्षक कारवाहीमा परेका छन् । जिल्लाका निजि विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउनका लागि परीक्षा केन्द्रदेखि निरिक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।