images
images

स्थानीय तह निर्वाचन प्रकृया सुरु, आज र भोली मनोनयन दर्ता हुने

  • ११ बैशाख २०७९, आईतवार ०९:२०

काठमाण्डौं ।  स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ ।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते अर्थात आज र भोलिका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ताको मिति शुरु भएसँगै निर्वाचनको तयारी एक चरणबाट टुंगिएर अर्को चरणमा प्रवेश गरेको बताउनुभयो । देशभरका ७ सय ५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७ सय ५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका रहेका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।

यसैगरी देशभरका स्थानीय तहमा ६ हजार ७ सय ४३ वडाहरु रहेका छन् । प्रत्येक वडाका लागि एक जना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।