images
images

स्थानीय तहकोे निर्वाचनमा उम्मेदवार बन्न दोलखामा तीन जना शिक्षकको राजीनामा

  • ११ बैशाख २०७९, आईतवार २०:२४

दोलखा । स्थानीय तहकोे निर्वाचनमा उम्मेदवार बन्न दोलखामा तीन जना शिक्षकले पदबाट राजीनामा दिएका छन् ।

शैलुङ, गौरीशंकर र वैतेश्वरका एक–एक जना गरी तीन जना शिक्षकले निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज र भोली मनोनयन दर्ताको समय तोकिएको छ । त्यसलाई मध्येनजर गर्दै गौरीशंकर गाउँपालिकाका शिक्षक प्रकाश बहादुर खड्काले आज मात्रै राजीनामा बुझाएका छन् । गौरीशंकरका खड्का र वैतेश्वरका लक्ष्मण चौंलागाईले गठबन्धन दलबाट उम्मेदवारी दिन शिक्षक पदबाट राजीनामा दिइएको बताइएको छ ।

यस्तै शैलुङ गाउँपालिकाका तिर्थ बहादुर श्रेष्ठले शिक्षक पदबाट राजीनामा दिएर नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले शैलुङ गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख महिनामा मात्रै तीन जना शिक्षकले राजीनामा दिएपनि त्यस भन्दा अघि पनि केही शिक्षकहरुले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखा प्रमुख शंकरबावु श्रेष्ठले जानकारी दिनुभयो ।