काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो पटक निर्वाचित भएकी छन् ।
दाहाल ५२ हजार ३० मत प्राप्त गर्दै महानगरपालिकाको मेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत मात्रै पाएका छन् । दाहालले १२ हजार ४ सय ४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् । महानगर प्रमुखका रूपमा एक कार्यकाल पूरा गरेकी उनी पुनः निर्वाचित भएकी हुन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेकी थिइन् । नेकपा माओवादी केन्द्रकी नेतृ दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी छोरी हुन् । उनी पार्टीभित्र इमान र प्रतिष्ठाका लागि संघर्षरत नेतृका रूपमा पनि स्थापित छन् । २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि भूमिगत भएकी थिइन् । जनयुद्धकालमा उनले देशको विकट ग्रामीण क्षेत्रमा रहेर काम गरिन् भने प्रवास विभाग अन्तर्गतको संगठनमा पनि काम गरेकी थिइन । उनले हरेक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।
यस्तै, उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८ सय ३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १ सय ९१ मत मात्रै आएको छ । भरतपुरमा १ लाख २७ हजार ५ सय ८ मत खसेको थियो । २०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ ।