images
images

तामाकोशी गाउँपालिकामा पुराना शिक्षकलाई अवकाशको योजना, तीन लाखसम्म सुविधा दिइने

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले २० वर्षदेखि अध्यापनमा रहेका शिक्षकहरुलाई नयाँ सुबिधा सहित अवकाशको योजना ल्याएको छ ।

गाउँपालिकाले २० बर्ष सेवा अवधि पुगेका र ५५ बर्ष उमेर पुरा भएका ईच्छुक शिक्षकहरुलाई नयाँ सुबिधा सहित अवकाश दिने योजना ल्याएको हो । पालिकाको शिक्षक स्वर्णिम अवकाश योजना कार्यक्रम कार्यान्वयन कार्यबिधि २०७९ अनुसार अवकाशमा जान ईच्छुक शिक्षकलाई अधिकतम ३ लाख सुबिधा उपलब्ध गराउन लागिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मेनुका बास्कोटाले जानकारी दिनुभयो । गाउँपालिकाले मंगलवार सूचना जारी गरी पालिकाभित्रका सामुदायिक बिद्यालयको प्राथमिक तह १ देखि ५, निम्न माध्यमिक तह ६ देखि ८ को दरबन्दीका कार्यरत २० वर्ष सेवा अवधि पुगेका र ५५ बर्ष उमेर पूरा भएका ईच्छुक शिक्षकहरुलाई नयाँ सुबिधा सहित अवकाश दिन लागेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले शैक्षिक गुणस्तर सुधारमा नयाँ जनशक्तिलाई प्रोत्साहन र अवकाशका जान लागेका शिक्षकलाई स–सम्मान बिदाई स्वरुप नयाँ सुबिधा सहित अवकास दिने योजना ल्याएको बताउनुभयो ।

यसैबीच, तामाकोशी गाउँपालिकाले कार्यबिधि बनाएर प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ । पहुँच र चलखेलका आधारमा बिद्यालयमा प्रधानाध्यापक नियुक्ति हुने कार्य बन्द गर्न पालिकाले कार्यबिधि नै बनाएर नियुक्त गर्न लागेको हो । गाउँपालिकाको सामुदायिक बिद्यालयमा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यबिधि २०७९ अनुसार सामुदायिक बिद्यालयमा खुला प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न लागिएको गाउँपालिकाका अध्यक्ष केसीले जानकारी दिनुभयो । प्रधानाध्यापकको लागि पालिकाले आवश्यक न्यूनतम योग्यता समेत निर्धारण गरेको छ । जसअनुसार आधारभूत तह कक्षा १ देखि ५ र ६ देखि ८ सम्मको प्रधानाध्यापकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

आधारभूत तह (कक्षा १ देखि ८ सम्म)को प्रधानाध्यापकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्नेछ । यस्तै, माध्यमिक तहको प्रधानाध्यापकका लागि मान्यता प्राप्त बिद्यालयबाट कम्तिमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण वा सम्बन्धित तहमा १० वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ । सम्बन्धित तहको शिक्षक पदमा कम्तिमा दुई वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।