दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि गाउँसभा प्रभावित भएको छ ।
शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन आज आयोजना गरेको गाउँसभामा जनप्रतिनिधीबीच विवाद भएपछि हात हालाहालको स्थिती पैदा भएको हो । शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले चालु वर्ष भ्रमण भत्ता वापत रकम लिएको विवरण सार्वजानिक गरिएको विषयलाई लिएर गाउँसभामा विवाद भएको थियो । शैलुङ गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष वीरबहादुर घतानीले वडा नम्वर ५ मा एमालेबाट निर्वाचित वडासदस्य नवराज कार्कीलाई गोप्य विवरण सार्वजनिक गरेको आरोप लगाएपछि जनप्रतिनिधिबीच ठेलमठेल र हात हालाहालको अवस्था पैदा भएको थियो । सो क्रममा गाउँपालिकाको सभाहल र सभाहलसँगै रहेको उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको बताईएको छ ।
गाउँसभामै जनप्रतिनिधिबीच विवाद र हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले सभा बहिस्कार गरेका छन् । शैलुङ गाउँपालिकाको ४२ सदस्यीय कार्यपालिका रहेकोमा २६ जना एमाले तथा १६ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।