images
images

जिरी नगरपालिकाले ल्यायो ५५ करोडको बजेट, यस्तो छ नीति तथा कार्यक्रम

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आज एकै पटक सार्वजनिक गरेको छ ।

नगरपालिकाको चौधौं अधिवेशनमा नगरप्रमुख मित्र बहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गर्नुभएको हो । अधिवेशन मार्फत जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५५ करोड ९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख खड्काले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ५५ करोड ९ लाख ८८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयोे ।

जुन चालु आर्थिक वर्षको बजेटको तुलनामा दुई करोड ६६ लाख ५ हजार रुपैंयाले बढी हो । गत वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा तीन करोड ६६ लाख रुपैंयाले कम बजेट ल्याएको नगरले यो पटक भने दुई करोड ६६ लाख रुपैंयाले बढी ल्याएको हो । उपप्रमुख खड्काले बजेट भाषण मार्फत आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात ६६ दशमलव ७० प्रतिशत विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्ष सो बराबरको रकम आय र व्यय अनुमान गरिएको छ । अधिवेशनमा सभाध्यक्ष एवम् नगरप्रमुख मित्र बहादुर जिरेलले १४४ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा जिरी नगरपालिकामा सञ्चालन भएका महत्वपूर्ण कार्यक्रम तथा गतिविधि र उपलब्धी सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभयो ।

जेठ मसान्तसम्मको आयव्यय विवरण

यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको खर्च र आम्दानीको विवरण पनि प्रस्तुत गरेको छ । आन्तरिक राजश्वतर्फ एक करोड ५ लाख अनुमान गरिएकोमा समिक्षा अवधिसम्म ६८ लाख २ हजार ५ सय ५६ रुपैंया मात्रै प्राप्त गरेको उल्लेख गरिएको छ । कम आम्दानी हुँदा आन्तरिक श्रोतबाट प्रस्तावित कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको नगरले जनाएको छ । साथै संघीय सरकार र प्रदेश सरकारबाट हुने राजस्व बाँडफाँटको रकम कम प्राप्त भएकोले चालु आर्थिक वर्षको अन्त्य सम्म पनि अनुमान बमोजिमको राजस्व बाँडफाट रकम प्राप्त गर्न कठिनाई हुने नगरले जनाएको छ ।

व्ययतर्फ विनियोजित बजेटमध्ये समिक्षा अवधिसम्म चालुतर्फ २५ करोड ८६ लाख र पूँजीगतर्फ ९ करोड ८५ लाख ५ सय रुपैंया खर्च भएको देखिएको छ । चालु वर्षको अन्त्य अर्थात असार मसान्तसम्म करिब ८१ प्रतिशत खर्च हुने नगरपालिकाको अनुमान छ । नगरसभामा आर्थिक विद्येयक समितिका संयोजक एवम् जिरी १ का वडाध्यक्ष आङपासाङ शेर्पाले आर्थिक विद्येयक २०८१ प्रस्तुत गर्नुभएको थियो ।

चार जना सम्मानित

नगरसभाको अवसरमा ४ जनालाई सम्मान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जिरी नगरको विकास, जिरीको पहिचान र नगरको राष्ट्रिय गान तथा लोगो डिजाइन बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको बताउनुभयो । जसमा जिरी विकासमा विभन्न माध्यमबाट सहयोग गरिएको भन्दै जिरीका वौद्धिक व्यक्तित्व टेक बहादुर जिरेल, जिरी घर भई अन्तराष्ट्रियस्तरमा खेलकुदको माध्यमबाट विजयी प्राप्त गर्न सफल खेलाडी अमृता खड्का शेर्पा, नगर गानका लेखक बैतेश्वर–३ का राजकुमार दाहाल र लोगो डिजाइनर बैतेश्वर ८ का भिमसेन श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।

साथै आजै नगरपालिकाले नगर गान र लोगोलाई सुभारम्भ र प्रदर्शन गरेको छ । यो सँगै अबदेखि जिरी नगरपालिकाले आफ्नै नगर गान र लोगोलाई प्रयोगमा ल्याउनेछ ।

नीति तथा कार्यक्रम र बजेट हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

नीति तथा कार्यक्रम-२०८१।०८२

बजेट-वडागत-२०८१।०८२