झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको कचनकवल गाउँपालिका वडा नम्बर ५ मा आज विहान एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । सुनकोशी चिया बगानस्थित बयरको रुखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेशको शव फेला परेको हो । उनीहरुको शव आज विहान ८ बजे फेला परेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो । तीनै जना किशोरीहरु चिया बगानमा श्रमिक थिए । आफैँले काम गर्ने बगानमा उनीहरु आज झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । पारिवारिक स्रोतका अनुसार चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु हिजो विहान ११ बजेदेखि वेपत्ता भएका थिए । हिजो बगान विदा भएपनि उनीहरु बगानमा गएका हुन् । वेपत्ता उनीहरु रातिसम्म परिवारको सम्पर्कमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तर आज विहान बगानमा काम गर्न जाने मजदुरहरुले उनीहरुको शव देखका हुन् । काम गर्ने मजदुरले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एक जना सलमा झुण्डिएको डोरी बाधेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । प्रहरीको प्रारम्भिक छानविनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आंशका गरिएको छ ।
यद्धपि घटनाको विषयमा थप अनुसन्धानका लागि परिवारसँग सोधपुछ भइरहेको डीएसपी पाठकले बताउनुभयो । उहाँका अनुसार तीनै जनाको शवलाई पोष्टर्माटमका लागि जिल्ला अस्पताल पठाइएको छ । पोष्टमार्टमपछि घटनाको विषयमा थप जानकारी हुने प्रहरीले जनाएको छ ।










