हेटौंडा । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको अझै नाम टुङगिएको छैन ।
मुख्यमन्त्री बहादुर सिंह लामाको सपथ ग्रहण ११ बजे हुने भएपनि अझै कांग्रेसबाट मन्त्री बन्ने ७ जना सांसदहरुको अझै नाम नटुङगिएको हो । मन्त्रीका दावेदारहरु धेरै रहेका कारण कांग्रेसलाई सकस भएको हो । सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको हिजै टुङगो लागिसकेकोे छ ।
मन्त्रालय बाँडफाँटअनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ । तर, अझै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गर्नेछन् । उनीहरूको शपथ ग्रहणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र समेत प्रदेश प्रमुख कार्यालय पठाइएको छ ।
मन्त्री टुङग्याउन नसकेको कांग्रेस तत्काल प्रदेश सरकारमा मन्त्री नपठाउने मुडमा पुगेको छ । तत्काल मन्त्री नपठाउने निर्णयमा पुगेका कांग्रेसले एक साता भित्र मन्त्रीको नाम तयारी गरी शपथ ग्रहण गराउने तयारी गरेको छ ।