
दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा आज पुनः पसिना आएको छ ।
भीमेश्वरको शीलामा आज पूनः दुई घण्टा २८ मिनेट पसिना आएको हो । भीमेश्वरको शीलामा आज दिउँसो १२ बजेर ४५ मिनेटबाट पसिना आउन सुरु भएकोमा ३ बजेर १३ मिनेटमा रोकिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भीमेश्वरको शीलाको तल्लो भागको चारैतर्फबाट पसिना आएको हो । आज पसिना आएको विषयमा दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत राष्ट्रपति कार्यालयमा जानकारी गराईसकिएको छ ।
भीमेश्वरको शीलामा एक साता नवित्दै दुई पटक पसिना आएको छ । यसअघि साउन ५ गते पनि भीमेश्वर मन्दिरको शिलामा लगातार दुई घण्टा पसिना आएको थियो । भीमेश्वरको शिलामा साउन ५ गते शनिवार दिउँसो १ः ४७ बाट सुरु भएको पसिना ३ः५१ मा रोकिएर पुनः ४ बजेर ५ मिनेटबाट ४ः १५ सम्म आएको थियोे । मन्दिरको शीलामा ४ दिनपछि पुन पसिना आएको हो ।
भीमेश्वरको शीलामा यसअघि पनि ६ महिनाको बीचमा दुई पटक पसिना आएको थियो । २०७७ सालको मंसिर र २०७८ सालको बैशाखमा गरेर ६ महिनामा दुई पटक पसिना आएको थियो । २०७८ साल बैशाख २५ गते भीमेस्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको थियो भने २०७७ साल मंसिर ९ गते २ घण्टा ११ मिनेटसम्म पसिना आएको थियो ।
भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ । पसिना आएको खवर सार्वजनिक हुनासाथ ठूलो सँख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।
भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनबिस्वास छ ।