काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान मृत्यु भएको छ ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको हो । विमान दुर्घटनामा मृत्यु भएकाहरु सबै जना सौर्य एयरलाइन्सकै कर्मचारी रहेका छन् । सबै सौर्य एअरलाइन्सकै व्यवस्थापक, चालक दल तथा अन्य कर्मचारी रहेको सौर्य एअरलाइन्सले जनाएको छ । क्याप्टेन मनिषरत्न शाक्य एअरलाइन्सका अपरेशन प्रमुखसमेत हुन् । उनको भने जीवितै उद्धार गरिएको छ । यस्तै चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा पनि विमानमा रहेका एअरलाइन्सले जनाएको छ । यस्तै सुशान्त कटुवाल को–पाइलट र बाँकी सबै यात्रु एअरलाइन्सकै कर्मचारी हुन् ।
विमानमा रहेका १९ जनामध्ये एक जना महिला र एक जना विदेशी नागरिक थिए । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवालसहित अमिटमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश महर्जन र श्याम बिन्दुकार थिए । यस्तै विमानमा नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र अरिफ रेड रहेका सौर्य एअरलाइन्सले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान धावनमार्ग छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर दुर्घटना भएको प्राधिकरणले जनाएको छ । घाइते क्याप्टेन शाक्यको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको र १८ वटा शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रेशम लेखकलगायतले दुर्घटनास्थलमा पुगेर अवलोकन गर्नुभएको छ ।