काठमाडौँ । ठुलो मानवीय क्षति हनेगरि भएको सौर्य एयरलाईन्स दुर्घटनाको छानविनका लागि जाँचबुझ आयोग गठन गरिएको छ ।
दुर्घटनापछि बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले विमान दुर्घटना छानविनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा आयोग गठन गरिएको हो । गठित आयोगलाई घटनाको अनुसन्धान गरि ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिईएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा भोली राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको आकस्मिक बैठकले भोली शोक मनाउने निर्णय गरेको हो । बैठकले विमानहरुको अनिवार्य परीक्षण गर्न निर्देशन दिएको छ ।
आज बिहान काठमाडौँबाट पोखरका लागि उडेको सौर्य एयरलाईन्सको विमान उड्नेवित्तिकै विमानस्थल परिसरमै दुर्घटना भएको थियो । दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ भने पाईलट गम्भिर घाईते भएका छन । घाईते क्याप्टेन मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भईरहेको छ ।
विमान दुर्घटनामा घाईते अवस्थामा उद्धार गरिएका शाक्यको अवस्था खतरामुक्त रहेको छ । दुर्घटनामा परि मृत्यु भएकाहरुको त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टम सरु भएको छ ।