images
images

१७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न बंगलादेश तयार

  • ८ भाद्र २०७९, बुधबार १६:५९

जिरी (दोलखा)। रामेछापमा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालयमा लगानी गर्न छिमेकी राष्ट्र बंगलादेश सकारात्मक देखिएको छ ।

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनासँगै रामेछापमा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न बंगलादेश सकारात्मक देखिएको हो । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सुनकोसी ३ को प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको सोमबार स्थलगत अवलोकन भ्रमण गरेका थिए । सो क्रममा रहमानले सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनासँगै रामेछापमा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सो आयोजनाहरुको निर्माण कार्य अघि बढाउन बंगलादेश तयार रहेको बताउनुभयो ।

नेपालले २०७५ साल साउन २५ गते भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैंठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो । बैंठकमा पहिलो चरणमा सुनकोशी–३ लाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।