images
images

रवि लामिछाने फेसबुक लाइभमा, भन्छन् ‘म डराएको छैन’ जे हो त्यही बुझौं

  • ८ आश्विन २०८१, मंगलवार २०:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानविन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताउनुभएको छ ।

आज बेलुकी फेसबुक लाइभ मार्फत उहाँले संसदीय छानविन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताउनुभएको हो । सभापति लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताउनुभयो । उहाँले जे हो त्यही बुझौं, गलत नबुझौं र नबुझाऔं भन्दै आफु ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको आर्थिक अपचलनको जिम्मेवारी लिन तयार भएको बताउनुभयो ।

सभापति लामिछानेले सहकारीबाट अन्य सञ्चारमाध्यममा समेत पैसा गएको खुलेकाले उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले संसदीय छानविन समितिका साभापति सूर्यबहादुर थापाले पनि आफुलाई दोषी नभएको बताएको उल्लेख गर्दै त्यसअघि प्रहरीले पनि आफुलाई दोषी नदेखाएको स्पष्ट पार्नुभयो ।

यसैबीच, सभापति रवि लामिछानेलाई पक्राउ पर्नबाट रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षमा रहेका दलहरूको समर्थन खोजेको छ । रास्वपा स्रोतले दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षमा रहेका अन्य दलले रविलाई साथ दिने प्रतिबद्धता जाहेर गरेका हुन् ।

सहकारी बचत अपचलन प्रकरणमा संसदीय समितिले प्रतिवेदन बुझाएपछि प्रतिवेदन कार्यान्वयनको निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । जसअनुसार बचत अपचलन प्रकरणमा दोषी देखिएका गोरखा मिडिया नेटवर्कका एक स्थापनाकर्ता छविलाल जोशी पक्राउ परेका छन् ।

जोशीलाई कास्की प्रहरीले पक्राउ गरेपछि रास्वपामा डर पैदा भएको छ । गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पहिलो दिनको बयान आज सकिएको छ ।