images
images

रामेछाप र सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवार बागीको सामना गर्दै, दोलखामा ‘नो टेन्सन’

जिरी (दोलखा) । रामेछाप र सिन्धुपाल्चोकमा बाम–लोकतान्त्रिक गठबन्धनका आधिकारीक उम्मेदवारले बागी उम्मेदवारको सामना गरिरहेका छन् ।

सिन्धुपाल्चोकमा माओवादी, कांग्रेसका उम्मेदवारलाई बागी र रामेछापमा कांग्रेसको आफ्नै बागी तथा नेकपा एकीकृत समाजवादी (एस)का उम्मेदवारको भार परेको हो । प्रतिनिधिसभातर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छारामलाई) आफ्नै पार्टी भित्रका बागी र गठबन्धनमा सिट नपाएको एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएपछि त्यसको सामना गर्नुपरेको छ भने दोलखामा गठबन्धनका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीको साथ र बागी उम्मेदवार पनि नभएपछि हाइसञ्चो छ ।

आफ्नै बागी र एकीकृत समाजवादीको पनि भार

आगामी निर्वाचनमा रामेछापमा प्रतिनिधिसभाका उम्मेदवार कान्छारामले आफ्नै पार्टीका थप २ जना उम्मेदवार र एकीकृत समाजवादीका एक गरी ३ जनाको भार खेपिरहेका छन् भने अर्काेतर्फ एमालेका पूर्व अर्थमन्त्रीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कान्छारामविरुद्ध नेपाली कांग्रेसकै नेता चन्द्रवहादुर राउत र कांग्रेसका अर्का नेता केदार खड्काले वागी उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । राउत लिखु तामाकोशी गाउँपालिकामा २०७४ सालमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका थिए । उनी लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ सैपूका हुन् । नेविसंघ र तरुण दलको जिल्ला अध्यक्ष भइसकेका केदार खड्का भने नेपाली कांग्रेस (विपी)मा गएर कान्छारामविरुद्ध उठेका छन् ।

प्रतिनिधिसभातर्फ माओवादीका प्रदेश कमिटी सदस्य रामकुमार तामाङले पनि बागी उम्मेदवारी दिएपछि कांग्रेस तथा माओवादीबाटै ३ जना र एकीकृत समाजवादीका प्रतिनिधिसभा उम्मेदवार पूर्व सांसद देवशंकर पौडेल सहितको सामना गर्र्दै कान्छारामलाई एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । सोही कारण रामेछापमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई एमालेको मात्रै नभएर गठबन्धन दलबाटै पनि चुनौती बढेको हो । एमालेबाट प्रतिनिधिसभामा जिल्ला इन्चार्ज एवम् बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगेल उम्मेदवार छन् । यसैगरी गठबन्धनबाट प्रदेशतर्फ क्षेत्र ‘क’ मा माओवादीका तारानारायण श्रेष्ठ र ‘ख’ मा युवराज चौलागाई चुनावी मैदानमा छन् ।

त्यसमा पनि प्रदेशसभा क्षेत्र ‘क’ मा कांग्रेस नेतृ जमुना कार्कीले वागी उम्मेदवारी दिएकी छन् । माओवादी उम्मेदवार श्रेष्ठ विरुद्ध उनको उम्मेदवारी कायमै रहेको हो । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा प्रदेशतर्फ बागी उम्मेदवारी दिएका माओवादीका नेताहरु क्षेत्र नम्बर १ का रविन्द्र पौडेल र २ का डिल्लीमान तामाङले मात्रै फिर्ता गरेका थिए । उनीहरु माओवादीकै तारानारायण श्रेष्ठ र युवराज चौलागाईका विरुद्ध उठेका थिए । तर, पछि आधिकारीक उम्मेदवारलाईनै सघाउने सर्तसहित उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् । यस्तै, गठबन्धनबाट एक सिट पनि नपाएपछि नेकपा एकीकृत समाजवादी पनि रामेछापमा यतिखेर छुट्टै एकल मैदानमा छ । नेकपा एसबाट प्रदेशतर्फ क्षेत्र ‘क’मा मन्थली नगरपालिकाका पूर्व मेयर रमेश बस्नेत र ‘ख’ बाट अधिवक्ता झम्क कँडेल चुनावी मैदानमा छन् । गठबन्धनका आधिकारीक उम्मेदवारमाथि बागी उम्मेदवारीबाट परेको असरका कारण एमालेलाई लाभ मिल्ने देखिन्छ । रामेछापमा एमालेको तर्फबाट प्रदेशमा ‘क’ बाट पूर्वमन्त्री शान्ति प्रसाद पौडेल र ‘ख’ बाट मिलन घिसिङले आगामी निर्वाचन लड्दैछन् ।

सिन्धुपाल्चोकमा पनि बागी उम्मेदवार

यसैबीच, सिन्धुपाल्चोकमा पनि गठबन्धनका उम्मेदवारले बागीको सामना गर्नुपरेको छ । गठबन्धनबाटै सिन्धुपाल्चोक १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका माओवादी केन्द्रका माधव सापकोटा विरुद्ध कांग्रेसका रामकुमार जीसी चुनावी मैदानमा छन् । सुनकोशी गाउँपालिकाका निर्वतमान अध्यक्ष श्रवणकुमार जीसीका भाइ रामकुमारले स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन गराएर आफूहरुलाई हराएको भन्दै सापकोटाविरुद्ध बागी उम्मेदवारी दिएर चुनावी मैदानमा आएको बुझिएको छ । तर, जिसीको पार्टीमा भने खासै पहिचान रहेको देखिँदैन । उनको तुलनामा सापकोटा धेरै गुणा बढी बलियो रहेको चर्चा छ ।

यस्तै, सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’उम्मेदवारी दिएका छन् । कांग्रेस प्रजातान्त्रिक हुँदा बस्नेतको साथमै भएका चौलागाई अहिले उनी शेखर कोइराला खेमामा लागेका छन् । यो क्षेत्रमा माओवादीको पूर्व केन्द्रीय सदस्य धुव्रप्रसाद पराजुलीको स्वतन्त्र उम्मेदवारी पनि कायम नै रहेको छ । क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार बस्नेतले कांग्रेस र माओवादीका बागी उम्मेदवारको पनि सामना गर्नुपर्नेछ । यस्तै प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका नेता सरल सहयात्रीविरुद्ध कांग्रेसका भक्त भण्डारीको बागी उम्मेदवारी छ । बागी उम्मेदवारी दिनेहरुमा कार्यकर्तादेखि पुराना नेतासम्म छन् ।

बागी उम्मेदवारी दिनेहरुलाई कांग्रेस र माओवादी केन्द्रले सकेसम्म विश्वास दिलाएरै उम्मेदवारी निश्क्रिय पार्ने प्रयास गरिरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टीका प्रभावशाली नेता नै बागी उम्मेदवार भएपछि निर्वाचन आयोगले दिएको समयसीमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । तर, कतिपयले फिर्ता गरेपनि धेरैले आफ्नो उम्मेदवारी कायमै राखेर पार्टीको आधिकारीक उम्मेदवारको विरुद्धमा उत्रिएका छन् ।

दोलखामा गठबन्धनका उम्मेदवारलाई हाइसञ्चो

यता, दोलखामा भने गठबन्धनका उम्मेदवारलाई ढुक्क छ । जिल्लामा गठबन्धनका उम्मेदवारले बागीको सामाना गर्नुपरेको छैन भने एकीकृत समाजवादीले पनि कांग्रेस र माओवादीका उम्मेदवारलाईनै सघाएको छ । जिल्लामा एक सिट समेत नपाएको एसले गठबन्धन दल केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धनलाई साथ दिएको होे । दोलखामा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा पोलिटव्युरो सदस्य गंगा कार्की र प्रदेशसभामा क्षेत्र ‘क’ मा कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले र क्षेत्र नम्बर ‘ख’ मा कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा चुनावी मैदानमा छन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीको साथ छ ।

दोलखामा गठबन्धन र गठबन्धन दल तथा दलका नेताकार्यकर्ता र उम्मेदवार चुनावी अभियानमा होमिदा नेकपा एमालेको एकल उम्मेदवारी छ । नेकपा एमालेबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटी र प्रदेशतर्फ क्षेत्र ‘क’ मा नरबहादुर श्रेष्ठ तथा ‘ख’ मा भरत केसी चुनावी मैदानमा छन् ।