images
images

दोलखामा बाढी पहिरोः ५१ घरपरिवार बिस्थापित, १५ करोडको क्षति

दोलखा । दोलखामा गत असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढी–पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १५ करोड बढीको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्यांक अनुसार बाढी पहिरोबाट १५ करोड ४६ लाख बराबरको अनुमानित क्षति भएको हो । जिल्लामा ३३ वटा पुल तथा सडकमा क्षति हुँदा करिब १५ करोड बराबरको क्षति भएको छ । यस्तै, एक बिद्यालय भवनमा क्षति हुँदा ३० लाख बराबरको अनुमानित क्षति भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार १६ लाख बराबरबो अन्नवाली पनि बाढी पहिरोले क्षति गरेको छ ।

दोलखामा रहेको देशकै ठूलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा भएको २ अर्व भन्दा बढीको क्षतिको विवरण भने समावेश गरिएको छैन । दोलखामा ५१ घरधुरीका १८० जनसंख्या बाढीपहिरोबाट बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । बैतेश्वर गाउँपालिकामा २६ घरधुरीका ८४ जना, भीमेश्वरका १७ घरधुरीका ८६ जना र शैलुङका ८ घरधुरीका १० परिवार बिस्थापित भएका हुन् ।

बाढीपहिरोबाट ३७ घर पूर्णरुपमा क्षति, २९३ घरमा आंशिक क्षति र ३९० घरपरिवार प्रभावित बनेको छन् । बिगु गाउँपालिकामा सबैभन्दा बढी १९१ घर परिवार प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भीमेश्वर नगरपालिकामा १५९ र बैतेश्वर गाउँपालिकामा ४० घरधुरी बाढीपहिरोबाट प्रभावित बनेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिकामा १४ घरमा पूर्ण क्षति र १२९ घरमा आंशिक क्षति पुगेको छ । बिगु गाउँपालिकामा ६ घर पूर्णरुपमा र ११० घरमा आंशिक क्षति, बैतेश्वरमा १५ घर पूर्ण र २५ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले शैलुङमा २ घर पूर्ण र १८ घरमा आंशिक क्षति तथा तामाकोशी गाउँपालिकामा ११ घरमा आंशिक क्षति पुगेको छ ।

दोलखाको बिगु गाउँपालिका ४ जना र भीमेश्वर नगरपालिकामा ३ जना गरी ७ जनाले बाढीपहिरोबाट ज्यान गुमाएका थिए । लामावगरमा रहेको माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रमा आएको बाढी पहिरोवाट २ जना सैनिक र २ जना कर्मचारी सहित ४ जना तथा भीमेश्वर नगरपालिका–६ मा पहिरोमा पुरिर एकै परिवारका ३ जनाको मृत्यु भएको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले क्षतिग्रस्त संरचनाको राहत तथा पुर्ननिर्माणकालागि बिस्तृत विवरण गृह मन्त्रालय र बागमती प्रदेश सरकारमा पठाएको जानकारी दिनुभयो ।