काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लैजान लागिएको हो । लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ ।
अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले लामिछानेसँगको बयान नसकिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो । सभापति लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ जना र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो ।