images
images

माओवादी केन्द्रका तीन युवा नेताले सिन्धुपाल्चोकमा यसरी जिते चुनावी मोर्चा

  • ८ मंसिर २०७९, बिहीबार १०:५४

दोलखा । नेकपा माओवादी केन्द्रका तीन जना युवा नेताले भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा ऐतिहासिक जित हाँसिल गरेका छन् ।

जनयुद्धमा भूमिगत राजनीतिदेखि तत्कालिन जनमुक्ति सेनाको कमाण्डर र कमिसार बनेका माओवादी केन्द्रका तीन युवा नेता एकैसाथ चुनावी मैदानमा उत्रिएर बिजय भएका हुन् । सापकोटा प्रतिनिधिसभा सदस्यकालागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । उनले ३० हजार ३ सय ७४ मतका साथ एमालेका उम्मेदवार सरेश नेपाललाई पराजित गरेका हुन् । नेपालले २७ हजार २० मत ल्याएका छन् । प्रतिनिधिसभा–१ को प्रदेशसभा २ वाट सरल सहयात्री पौडेल १७ हजार २ सय ५६ मत ल्याएर बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत पाएका छन् ।

माओवादीका अर्का युवा नेता युवराज दुलाल भारी मत अन्तरका साथ प्रदेशसभा सदस्यमा दोश्रो पटक निर्वाचित भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेशसभा २ वाट उम्मेदवार बनेका दुलालले एमालेका अमानसिंह तामाङलाई ८ हजार ७ सय ६७ मतान्तरले पराजित गरेका हुन् । दुलालले २० हजार ९ सय ६ मत र तामाङले १२ हजार १ सय ३९ मत पाएका छन् । प्रदेशसभामा बिजयी दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका थिए ।

युवा नेताले प्रतिनिधिसभा र प्रदेशसभामा बिजय हात पारेसँगै सिन्धुपाल्चोकको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य रहेका माधव सापकोटा ‘सुवोध’ प्रतिनिधिसभा सदस्य र अर्का पोलिट्व्यूरो सदस्य युवराज दुलाल ‘शरद’ र सरल सहयात्री पौडेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सिन्धुपाल्चोकवाट निर्वाचित तिनै जना युवा नेता भर्खरै ४० बर्ष पार गरेका छन् । जनयुद्धमा शरद र सरल जनमुक्ति सेनाको बिग्रेड कमाण्डर र सुबोध कमिसार थिए । शान्ति प्रक्रियापछि शरदले लामो समयसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सुरक्षाको कमाण्ड गरेका थिए । सुबोधले सिन्धुपाल्चोक जिल्लाको पार्टी इन्चार्ज भएर कमाण्ड गरे भने २०७० सालको संबिद्यानसभामा उम्मेदवार बनेका सरलले सो निर्वाचनमा पराजित भएका थिए । सरल अहिले नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षको जिम्मेवारीमा छन् ।

गत असोज २३ गते मनोनयन दर्ताको क्रममा यी तीन युवा नेता एउटै पहिरनमा देखिएका थिए । रातो सर्ट र निलो पाइन्ट लगाएका सुबोध, शरद र सरलको तस्वीर सार्वजनिक हुँदा शान्ति प्रक्रियामा वार्ताकालाािग माओवादी शिर्ष नेताहरु एउटै पोशाकमा सार्वजनिक भएको झल्को दिएको थियो ।