images
images

आजदेखी इजरायल र हमासबीचको युद्धविराम लागू हुने, विपिनको रिहाइका लागि सरकारको पहल

  • ८ मंसिर २०८०, शुक्रबार ०९:५६

काठमाडौं । नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ ।
इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो । इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम आजैदेखि लागू हुँदैछ । सो अवधिमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको सो अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । हिजो मन्त्रालयमा भएको भेटमा उहाँले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

जवाफमा राजदूत गोदेरले यसलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । हालसम्म उनको अवस्था अज्ञात छ । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन । यही रिहाइको क्रममा विपिनलाई पनि रिहाइ गर्नेगरी पहल थालिएको हो ।