काठमाडौं । रामेछापकी एक महिलाले श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएकोे भन्दै अख्तियारले उनीसहित दुईजना बिरुद्ध मुद्धा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्थली नगरपालिका–३ की निर्मला खत्री र सोही वडाका तत्कालीन वडासचिव शिवकुमार महतोमाथि मुद्धा दायर गरेको हो । खत्रीका श्रीमान्ले आफू जीवितै हुँदा मृत्यु दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिलाको भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानविन गरेको थियो । सोही क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता एकल महिलाको परिचय पत्र बनाएर भत्ता लिएको खुलासा भएको हो ।
अख्तियारले ती महिलाले एकल महिलाको नाममा ४५ हजार २ सय २० रुपैयाँ भत्ता लिएको देखिएको र सो रकम बिगो मानी भ्रष्टाचारको मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।










