images
images

जिरी अस्पतालमा बल्ल आए एमडीजीपी डाक्टर

  • ९ पुष २०७९, शनिबार १०:०६

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पतालमा नयाँ एमडिजीपी डाक्टर नियुक्त गरिएको छ ।

जिरी अस्पतालमा एमडीजिपी डाक्टर रिक्त भएको करिब पाँच महिनामा नयाँ डाक्टर नियुक्त गरिएको हो । काठमाडौँको पाटन अस्पतालबाट एमडीजिपी डाक्टर राजु गुरुङ जिरी अस्पतालमा आएको जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले जानकारी दिनुभयो । यसअघिका एमडिजीपी डक्टर देवेन्द्र गौतमको करार अवधि सकिएर गएसँगै जिरी अस्पतालमा लामो समयसम्म मुख्य डाक्टरको पद रिक्त थियो ।
विशेषज्ञ डाक्टर रिक्त भएसँगै अस्पतालको केही सेवा बन्द भएको थियो । तर, अहिले अस्पतालले नयाँ एमडीजिपी डाक्टर पाएको छ । सो अस्पतालबाट यसअघि एमबिबिएस डाक्टर राजु जैसवाल, सिनेट पोखरेल र डेन्टिस सुमी खड्का सहितको स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिँदै आएका थिए । एमडीजीपी लगायतका मुख्य डाक्टर नहुँदा सामान्य र जटिल शल्यक्रिया लगायतका सेवा ठप्प हुन पुगेको थियो ।

अहिले एमडीजिपी डा. गुरुङ केही दिन अघिदेखि अस्पतालमा हाजिर भएको र रोकिएका सेवाहरु सुचारु गरिने नगर प्रमुख जिरेलले बताउनुभयो । यस्तै, संघीय सरकारले जिरी अस्पतालका लागि थप एक जना डाक्टर पठाउने तयारी गरेकोे छ । पर्याप्त भौतिक संरचना, उपकरण र ल्याब भएको जिरी अस्पतालमा पर्याप्त विशेषज्ञ डाक्टर नहुँदा समस्या हुने गरेको छ । यसअघि प्रसुति गराउन समेत सदरमुकाम चरिकोट र जिल्ला बाहिर लैजानुपर्ने पर्ने बाध्यता रहेको स्थानीय नागरिकहरुको गुनासो छ ।

अब बिरामीले जिरी अस्पतालबाट सहजै सो सेवाहरु पाउने जिरी नगरपालिकाको दावी छ । जिरी नगरपालिका मातहत रहेको जिरी अस्पतालमा दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु देखिका बिरामी सेवा लिन आउने गरेका छन् ।