images
images

निर्वाचनको समिक्षा गर्न दोलखा एमाले र कांग्रेस समिक्षामा, माओवादी केन्द्रको छैन तयारी

  • ९ पुष २०७९, शनिबार १९:२७

दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएसँगै दोलखाका राजनितिक दलहरु निर्वाचनको समिक्षामा जुटेका छन् ।

नेकपा एमाले दोलखाले निर्वाचनको समिक्षाका लागि आज र भोली दुई दिन जिल्ला कमिटीको बैठक राखेको छ भने नेपाली कांग्रेसले भोलीका लागि बैठक बोलाएको छ । सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा जारी एमालेको बैठकमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनका विषयमा पालिकास्तरका नेताहरुले रिर्पोटिङ गरिरहेका छन् । निर्वाचनमा कम मत खसेको र पार्टीभित्रैबाट अन्र्तघात भएको विषयमा बैठकमा वृहत रुपमा छलफल हुने नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले जानकारी दिनुभयो ।

संसदीय निर्वाचनमा लगातार दोलखामा बिजयी हातपार्दै आएको एमालेले यो पटकको निर्वाचनमा नराम्रोसँग पराजय भोगेको छ । प्रतिनिधि सभा र प्रदेशसभाको एक सदस्यमा समेत हार व्यहोरे पछि आयोजना गरिएको जिल्ला पार्टीको समिक्षा बैठकलाई निकै महत्वका साथ हेरिएको छ । प्रतिनिधि सभा सदस्यको प्रतक्ष्यतर्फको निर्वाचनमा धाँधली भएको भन्दै एमालेले दिएको उजुरी अनुसार पुनः निर्वाचन हुँदा समेत पराजय भोग्नु परेपछि एमाले दोलखाका सिनियर नेताहरुले एक अर्कालाई अन्र्तघातको आरोप लगाउँदै आएका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको प्रतक्ष्यतर्फको निर्वाचनमा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ३ सय १७ मतान्तरले मात्रै पराजित हुनुको मुख्यकारण एमालेभित्रकै अन्र्तघातका भएको टिप्पणी हुँदै आएको छ ।

निर्वाचनमा अन्र्तघात भएको विषयमाजिल्ला कमिटीका बैठकमा गम्भिर छलफल हुने र पार्टीमा अन्र्तघात गर्नेमाथि कारवार्ही प्रक्रिया अघि बढाउन जिल्ला छानविन समिति बनाउने एमालेको तयारी छ । दुई दिनसम्म चल्ने बैठकले पार्टीको आगामी कार्ययोजना पनि बनाउने एमाले जिल्ला सचिव थोकरले बताउनुभयो । बैठकमा एमालेका पोलिटव्युरो सदस्यद्धय आनन्दप्रसादपोखरेल र पार्वत गुरुङसहित केन्द्रीय समितिका सदस्यहरु, प्रदेशस्तर, जिल्लास्तर र पालिका स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागीता छ ।

नेपाली कांग्रेसले यसरी गर्दैछ समिक्षा
नेपाली कांग्रेस दोलखाले पनि भोली बृहत संयुक्त समिक्षा बैठक बोलाएको छ । चरिकोटस्थित सिमपानी हलमा विहान १० बजेदेखि बस्नेगरी वैठक बोलाइएको हो । कांग्रेसको भोलीको बैठकमा निकै गरमागरम हुने देखिएको छ । पार्टी सभापति बर्मा लामाले पार्टीभित्रैबाट अन्र्तघात गरेर आफुलाई निर्वाचनमा हराएको भन्दै सार्वजनिक रुपमै प्रतिक्रिया दिईरहेका बेला निर्वाचनको समिक्षा गर्ने गरी बैठक बस्न लागेको हो । बैठकमा शिर्ष तहदेखि वडास्तरसम्मका नेताकार्यकर्ताहरुलाई बोलाइएको नेपाली कांग्रेस दोलखाले जनाएको छ । भोलीको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसको भोट घट्नुको कारण के हो ? भन्ने विषयमा बृहत छलफल हुने नेपाली कांग्रेस दोलखाका सभापति लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीभित्रै बसेर पार्टीमा घात अन्र्तघात गर्नेलाई कारवाहीका लागि उपल्लो कमिटीमा सिफारिस गर्नेसम्मका विषयमा बैठकमा छलफल हुनेछ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्र्तघात गर्नेहरुको सूची पुस १५ गतेभित्र पठाउन भनेको छ ।

सोही कारण कांग्रेसले भोली बैठक बोलाएको हो । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा दोलखामा कांग्रेस प्रदेश सभा १ मा बिजयी भएपनि प्रदेशसभा २ मा पराजित भएको थियो । चुनावी गठबन्धन गर्दा पनि प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पराजित हुनुमा पार्टी भित्रकै अन्र्तघात मुख्यकारण रहेको चर्चा हुँदै आएको छ । प्रदेशसभा २ का उम्मेदवार एवँ कांग्रेस दोलखाका सभापति बर्मा लामाले सूर्यमुखी कांग्रेस र सूर्यमुखी माओवादीका कारण चुनावमा पराजित हुनु परेको अभिव्यक्ति दिँदै आएका छन् ।

माओवादी केन्द्रको छैन समिक्षाको तयारी
दोलखामा मंसिर १९ गते निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । मतपरिणाम सार्वजनिक भएको १९ दिनपछि नेकपा एमाले र नेपाली कांग्रेसले चुनावि समिक्षा गर्न बैठक बोलाएपनि नेकपा माओवादी केन्द्रले बैठक राख्ने तयारीसम्म गरेको छैन । पुस अन्तिमसम्ममा जिल्ला समन्वय समितिको बैठक राख्ने भनिएपनि मिति तय नभएको नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा सरकार गठन भइसकेपछि मात्रै बैठक कहिले बस्ने भन्ने टुंगो लाग्नेछ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको संयुक्त गठबन्धनवाट माओवादी नेता गंगाकार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर झिनो मतान्तरले बिजयी भएका छन् । प्रदेशसभा १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले ८ हजार बढी मतले बिजयी भएपनि माओवादीका उम्मेदवार कार्की ३ सय १७ मताँन्तरले मात्रै बिजयी भएका थिए । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीको ठूलो मत क्रश हुँदा पनि माओवादी केन्द्रले बैठक र समिक्षाको कुनै योजना बनाएको छैन ।