images
images

सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो बढेसँगै जिरी सहित तीन स्थानको तापक्रम माईनसमा

  • ९ पुष २०८१, मंगलवार ०६:५५

काठमाडौँ । पश्चिम नेपालबाट मौसम बदली सुरु भएसँगै मुलुकभर चिसो बढेको छ ।

मौसम बदली भएसँगै मुलुकभरको तापक्रम घट्न थालेको हो । सुदुरपश्चिम प्रदेशमा मौसम बदली सुरु भएको र विस्तारै मुलुकभर फैलिने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालसम्म वर्षा भईनसकेपनि अब विस्तारै उच्च पहाडी र हिमाली क्षेत्रमा हितपात तथा अन्य क्षेत्रका हल्का वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मुलुकभर पश्चिमी वायुको साथै पश्चिमी न्युनचापीय प्रणालीको प्रभावका कारण मुलुकभरको मौसम बदली हुने भएको हो ।

मौसममा आएको बदलीसँगै थप चिसो बढ्न थालेको छ । चिसो बढेसँगै दोलखाको जिरी सहित विभिन्न स्थानको मौसम हिजोबाट माईनसमा झरेको छ । जसअनुसार सबैभन्दा कम तापक्रम जुम्लामा माईनस ७.८ डिग्री सेल्सियस मापन गरिएको थियो भने जोमसोमको मुस्ताङमा माईनस ४.५ डिग्री सेल्सियस मापण भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दोलखाको जिरीको तापक्रम पनि माईनसमा झरेको छ । जिरीको तापक्रम माईनस १.१ डिग्री सेल्सियस मापण गरिएको हो । काठमाडौँ उपत्यकामा भने न्युनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापण गरिएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।