
हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष आम्दानीको अनुमान गरेको ११ शीर्षकको आयमा प्रगती शुन्य देखिएको छ ।
चालु आर्थिक वर्षको ५ महिना वितिसक्दा प्रदेश सरकारको आम्दानीमा उल्लेख्य प्रगती नदेखिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष वन रोयल्टीबाट १५ करोड ७५ लाख १३ हजार रुपैयाँ आय प्राप्त हुने अनुमान गरेपनि साउनदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा राजश्व संकलनमा कुनै प्रगती देखिएको छैन ।
यस्तै, बाँडफाँड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रारेयल्टीबाट अनुमान गरिएको ४१ करोड १३ लाख १ हजार आयमा प्रगती भने शुन्य छ । बाँडफाँड भई प्राप्त हुने विद्युत सम्बन्धी रोयल्टीबाट अनुमान गरिएको ३५ करोड ६७ लाख ५३ हजारको पनि कुनै प्रगती भएको छैन । प्रदेश सरकारले पर्वतारोहण वापतको रोयल्टीबाट १ करोड ८८ लाख १ हजार आम्दानी हुने अनुमान गरेको थियो । तर, त्यसको पनि हालसम्म राजश्व संकलन शुन्य रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
यसैगरी, विशेष अनुदानमा चालुतर्फ २८ करोड ३९ लाख, विशेष अनुदान पूँजीगत तर्फ ७० करोड ७४ लाख, समपुरक अनुदान पूँजीगततर्फ ८५ करोड ५० लाख र सँघ सरकारबाट प्राप्त हुनसक्ने अनुदानमा १ अर्ब ५० करोड आयको अनुमान गरिएपनि मंसिर मसान्तसम्म प्रगती देखिएको छैन ।
प्रदेश सरकारले गत आर्थिक वर्षको नगद मौज्दातबाट १४ अर्ब १३ करोड ३२ लाख ३२ हजार १ सय आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, यो अवधिसम्म सो शीर्षकमा पनि प्रगती शुन्य रहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बागमती प्रदेश सरकारले टेलिभिजन सञ्चालन दस्तुरबाट ७२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा उपलव्धी शुन्य रहेको छ ।
बागमती प्रदेश सरकारले चालु वर्ष ६४ अर्ब भन्दा बढी रकम आयको अनुमान गरेर बजेट ल्याएकोमा चालु वर्षको ५ महिनामा १५ अर्ब ६६ करोड ८८ लाख राजश्व संकलन गरेको छ ।