images
images

बन्द भएकाे तीन महिनामा माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिक विद्युत् उत्पादन सुरु

  • ९ पुष २०८१, मंगलवार २१:०६

जिरी (दोलखा) ।  माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत मर्मतसम्भार गरेर ८८ दिनपछि आज बेलुका ७ः४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु भएकाे हो । नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युतमा गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुगेकाे थियाे ।

आजदेखि आंशिक उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्त बमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि गत असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।