हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा आज ४ सिटका लागि निर्वाचन हुँदै छ ।
बागमती प्रदेशकोतर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका ४ जनाको आगामी फागुन २० गते पदावधि सकिने भएपछि आज निर्वाचन हुन लागेको हो । जसका लागि १५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने त्यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका २, माओवादी र एकीकृत समाजवादीका एक÷एक जनाले उम्मेदवारी दिएका छन् भने एमालेका ४, राप्रपाका ३ तथा नेमकिपाका ४ जना उम्मेदावर रहेका छन् । कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपांगता क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।
यस्तै एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार छन् भने राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता÷अल्पसङ्ख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपांगतार्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगिता नेपाली उम्मेदवार रहेका छन् । मतदान मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको नयाँ भवनमा मतदान हुनेछ । मतदानका लागी प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टा–छुट्टै केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।
एक मतदान केन्द्रमा ४ वटा गरी कुल ८ वटा बुथको व्यवस्था गरिएको छ । मतदानका लागि महिला र पुरुषको लागी छुट्टाछुट्टै लाइनको व्यवस्था गरिनुका साथै असक्त र अपाङ्गता भएका मतदाताको हकमा लाइन बस्न नपर्ने गरी मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३७ जना रहेका छन् । मतदान बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।










