मुगु । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।
सोरुगाउँपालिका–६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पुरुमुरु गाउँका ७२ वर्र्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोली रहेका छन् । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका मानिसहरु भाईरल ज्वरोले पीडित रहेका छन् ।
गाउँभर बिरामी रहेका र विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोल समेत नपाइने अवस्था रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले हिजो सोरुगाउँपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण समेत गरेको थियो ।
जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले चिसोका कारण बिरामी बढेको भन्दै भाइरल फिबर नियन्त्रण हुन केही समय लाग्ने बताउनुभयो । उहाँका अनुसार तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खानामा रुचि नहुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन् ।










