
दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले जिल्लामा धमाधम पालिका र वडा अधिवेशन जारी राखेको छ ।
माओवादी केन्द्र दोलखाले जिल्लामा एकैसाथ पालिका र वडा अधिवेशन गरिरहेको हो । जसअनुसार आजसम्म ५ वटा पालिकाको अधिवेशन सम्पन्न भईसकेको छ । हालसम्म करिव ४५ वटा वडाको वडा अधिवेशन पनि सम्पन्न भईसकेको नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो । माओवादीले आधा भन्दा बढि पालिका र वडामा अधिवेशन सम्पन्न गरिसकेको हो ।
सोही अनुसार आज शैलुङ गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् जिल्ला ईञ्चार्ज विशाल खड्काले उद्धघाटन गर्नुभयो । अधिवेशनले निलाकुमार श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । तर, पालिका कमिटिका अन्य पदाधिकारी भने पहिलो पूर्ण बैठकले टुंगो लगाउनेछ ।
माओवादी केन्द्र शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष जितकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न अधिवेशनमा माओवादी केन्द्रका नेता शंकर लामा, जिल्ला संयोजक कमल श्रेष्ठ, गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । अधिवेशनको अवसरमा पालिकाको वडा नम्वर १ र ३ बाट करिव एक दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शैलुङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएसँगै माओवादी केन्द्रले ५ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ । हालसम्म शैलुङ, तामाकोशी, विगु, गौरीशंकर र वैतेश्वर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो । अब दुई गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन हुन बाँकी छ । मेलुङ र कालिञ्चोक गाउँपालिकाको माघ मसान्तभित्रै अधिवेशन सकिने नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ ।
यस्तै, जिरी नगरपालिकामा आगामी फागुन १ गते गर्ने तयारी छ । भीमेश्वर नगरपालिकाको भने मिति तय तय गर्न बाँकी छ ।