images
images

चरिकोटमा हातखुट्टा बाँधेर हत्या गरिएको अवस्थामा युवकको शव फेला

  • १३ फाल्गुन २०७८, शुक्रबार १६:५९

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा हातखुट्टा बाँधेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

भीमेश्वर नगरपालिका वडानम्बर ३ स्थित जलदेवी मन्दिर नजिकै भालुखोलाको तल खोँचमा सडकबाट करिव सय मिटर तल एक युवकको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन । अन्दाजी २०/२२ वर्षिय युवकको शव हात खुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा आज फेला परेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक युवकको हातखुट्टा र मुखमा घाउमा लगाउने सेतो पट्टी बाँधिएको छ । उनको करिव १०, १२ दिन अघि नै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । आज दिउँसो स्थानीय बालवालिका बाँदर धपाउन जानेक्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

त्यस लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले उनको आधा शरीर खाल्डो खनेर पुरेको अवस्थामा फेला पारेको हो । ती युवकको शव गलिसकेको अवस्थामा फेला परेको छ । शव सडेर शरीरको छाला सबै उक्किन लागिसकेकाले पहिचानमा समस्या भएको दोलखा प्रहरीले जनाएको छ । उनको शवलाई सुरक्षित गर्नका लागि आजै काठमाडौंको टिचिङ अस्पतालमा पठाउने तयारी भइरहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको र घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको डिएसपी पौडेलले जानकारी दिनुभयो ।