जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा यो वर्षको होली पर्व भव्य रुपमा मनाइने भएको छ ।
युवा सञ्जाल जिरीको आयोजनामा जिरी जाऊ होली मनाऊ भन्ने नाराको साथमा होली मनाउने तयारी तीब्र पारिएको हो । विगतको वर्ष भन्दा यो वर्ष फरक र स्पेशल तरिकाले होली पर्व मनाउन लागिएको छ । जिरीमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सांगितिक कार्यक्रम सहित भव्य रुपमा होली कार्यक्रमको आयोजना गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिनुभयो । औपचारिक कार्यक्रम नभएपनि होली पर्व भव्य मनाउने तयारी गरिएको छ ।
जिरीको मुख्य बजार लिंकन बजारमा विहान १० बजेदेखि डिजे सहितको सांगितिक कार्यक्रमको साथमा दिनभर रङहरुको पर्व होली मनाइने अध्यक्ष खड्काले बताउनुभयो । स्लो बाइक रेस, कलचर डान्स, स्थानीय कलाकारहरुको प्रदर्शनी, पप गित प्रदर्शन गर्ने लगायतको कार्यक्रम पनि रहेको छ । २२ गते मनाइने होली पर्वको लागि जिरी बजारमा जिरी जाऊ होली मनाऊ भन्ने प्रिन्ट टिसर्टहरु पनि व्यापारीहरुले धमाधम विक्री गरिहेका छन् ।
होली पर्वलाई भव्य बनाउनको लागि अहिलेदेखिनै जिरी बजारको फेन्सी पसलहरुबाट सो टिसर्ट विक्री हुन थालेको हो । टिसर्टहरु २ सय ८० देखि ३ सय ७० मूल्य सम्ममा विक्रीवितरण भइरहेको छ । होलीको अवसरमा आयोजना गरिएको कार्यक्रमबाट आएको आम्दानीबाट जिरीको सडकको रेलिङ रङ्ग रोगन गर्ने, बजारमा तोरङ हाल्ने लगायतको काम गर्ने युवा सञ्जाल जिरीले जनाएको छ । विगतमा पर्यटकले खचाखच हुने जिरी पछिल्लो वर्षहरुमा सुनसान हुँदै गएपछि पर्यटन प्रवद्र्धनका लागि जिरीबासीले बेला–बेला महोत्सव र विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् । सडक र सवारी सेवाको व्यवस्था नहुँदा विगतमा जिरीबाटै विदेशी तथा नेपाली पर्यटक पैदल मार्फत हिमाल आरोहणका लागि पुग्ने गरेका थिए ।
जिरी सगरमाथाको प्रवेशद्धारको रुपमा थियो । नेपालको स्वीजरल्याण्डको नामले परिचित जिरी सडकबाटोको विस्तारसँगै र २०७२ सालको विनाशकारी भुकम्पपछि सुनसान बन्दै गएको हो । पर्यटन प्रवद्र्धनको लागि जिरी नगरपालिकाले थुप्रै पार्कहरु निर्माण गरेको छ । तर, पछिल्लो वर्षहरुमा जिरी पर्यटकको आकर्षणको केन्द्र बन्न छोडेको छ । जिरी १ पुम्पास्थित स्टोन पार्कमा केही पर्यटकहरु पुग्ने गरेपनि अन्य पार्कहरुमा स्थानीय पर्यटक समेत पुग्दैनन् । विगतमा पर्यटकले भरिभराउ हुने गरेको जिरीको होटल लज अहिले अधिकांश समय सुनसान जस्तै हुने गरेको छ ।