
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्र्तगत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरियामा विदेशी श्रमिकले यातना पाउने र आत्महत्या गर्ने क्रम बढ्दो छ ।
कोरिया सरकारले बोलाएर काम गर्न पुगेका प्रवासी श्रमिकमध्ये सन् २०२२ मा १ सय ७३ जनाले आत्महत्या गरेका छन् । पछिल्ला ५ वर्षमा ईपीएस कोरिया पुगेकामध्ये ८५ जना नेपाली श्रमिकको ज्यान गएको छ । त्यसमध्ये सबैभन्दा बढी बिरामी भएर र आत्महत्याबाट मृत्यु भएका छन् । कोरियाको प्रवासी श्रमिकसँग सम्बन्धित खराब नीतिनियम, उनीहरुमाथि गरिने भेदभाव, खराब कार्यस्थल र कम्पनीको दबाबमा जबरजस्ती काम गर्नुपर्दा शारीरिक, मानसिक तनाव हुने गरेको छ ।
रोजगारदाताको व्यवहारका कारण श्रमिक कम्पनी परिवर्तन गराईदिन दूतावासमा सम्पर्कमा पुग्ने गरेका छन् । कोरियामा रोजगारदातालाई बढी अधिकार हुँदा श्रमिकमाथि शोषण भईरहेको छ । कम्पनीका सञ्चालकलाई कानुनी रुपमा जिम्मेवार बनाउने कानुन नआएसम्म श्रमिकमाथि शोषण भैराख्ने विज्ञहरुको भनाई छ ।
प्रायजसो कृषि क्षेत्र ग्रामीण भेगमा रहेको र त्यहाँ बस्नेहरुको बजारसँग सहजै पहुँच छैन । जसका कारण बाहिर सम्पर्क नहुने हुँदा यसले पनि मनोवैज्ञानिक असर पुगिरहेको पाईएको छ ।
ईपीएस अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका म्याग्दीको मालिका गाउँपालिका १ का तुलसी पुन मगर शुक्रवार मृत फेला परेका छन् । उनका सहकर्मिले रोजगारदाता र सुपरभाईजरबाट निरन्तर भैरहेको यातना सहन नसकेर आत्महत्या गरेको दाबी गरेका छन् । घटनाको केही दिनअघि मात्र तुलसीसहित ६ नेपाली श्रमिकले आफूहरुमाथि कुटपिट भैरहेको भन्दै उद्धारका लागि भिडियोमार्फत अपिल गरेका थिए ।