images
images

बागमती प्रदेशका बन तथा वातावरणमन्त्री गृह जिल्ला दोलखामा

  • ११ चैत्र २०७८, शुक्रबार १५:०३

दोलखा । बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्काले नयाँ बजेट बनाउने क्रममा राजनीतिक भागबण्डा नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री खड्काले नयाँ बजेट बनाउने क्रममा सबै दलको सम्मान भुमिका हुनुपर्ने भन्दै अब बनाउने योजनाहरु सामुहिक रुपमा बनाउन राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको हो । नेकपा माओवादी केन्द्र शैलुङ गाउँपालिका वडा नम्बर ५ को प्रथम ऐतिहासिक वडा सम्मेलन तथा वडा कार्यालय भवन उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले शैलुङ गाउँपालिकाको केही स्थानमा खानेपानीको अभाव भएर स्थानीयले मासिक पैसा तिरेर खानुपर्ने बाध्यता रहेकाले सो विषयमा स्थानीय तहलाई जिम्मेवार हुन आग्रह गर्दै सो कार्यका लागि आफुले पनि पहल गर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्रग जिल्लाको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा माओवादी शैलुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सम्पन्न वडा सम्मेलन तथा वडा कार्यालय भवन उद्धघाटन कार्यक्रममा सहभागी हुन मन्त्री खड्का आज विहान दोलखा आउनुभएको थियो । मन्त्री खड्काले सुरुमा नेकपा माओवादी केन्द्र वडा नम्बर ५ काटाकुटीको वडा कार्यालय भवनको उद्ध्घाटन गरेकोे मन्त्री खड्काका स्वकिय सचिव रोशन खड्काले जानकारी दिनुभयो । मन्त्री बनेपछि जिल्लाको शैलुङ गाउँपालिकामा पहिलो पटक पुग्नुभएका मन्त्री खड्कालाई त्यहाँका स्थानीयले बाजासहित भव्य स्वागत गरेका थिए । बागमती प्रदेशको मन्त्रीको महत्वपूर्ण जिम्मेवारीमा रहेपनि मन्त्री खड्काले दोलखामा आयोजित बिभिन्न कार्यक्रमलाई प्राथमिकता दिँदै आउनुभएको छ ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र शैलुङ गाउँपालिका वडा नम्बर ५ मा विष्णुकुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्र शैलुङ गाउँपालिका वडा नम्बर ५ को आज सम्पन्न प्रथम ऐतिहासिक वडा सम्मेलनले कार्कीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन गरेको हो । वडा कमिटिमा अन्य पदाधिकारी चयन हुन भने बाँकी छ । शैलुङ गाउँपालिका वडा नम्बर ५ को प्रथम बैठकले अन्य पदाधिकारी चयन गर्ने नेकपा माओवादी केन्द्र शैलुङ गाउँपालिकाका अध्यक्ष जितकुमार मुक्तानले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र शैलुङ गाउँपालिका वडा नम्बर ५ ले आज संयुक्त रुपमा प्रथम ऐतिहासिक वडा सम्मेलन तथा वडा कार्यालय भवन उद्धघाटन कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु पाटी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् शैलुङ गाउँपालिकाका ईञ्जार्च रिमाल बाबु श्रेष्ठ, प्रदेश सदस्य कमल श्रेष्ठ (ज्योति), नेकपा माओवादीको जिल्ला समन्वय समिति सदस्य एवम् शैलुङ गाउँपालिका कमिटिका अध्यक्ष जितकुमार मोक्तान लगायतको सहभागिता थियो ।