images
images

सिन्धुपाल्चोककी सन्तोषी मृत्यु प्रकरण, ईन्स्पेक्टर र हवल्दार पुर्पक्षका लागि थुनामा

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा एपिएफकै ईन्स्पेक्टरसहित दुई जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

ईन्सपेक्टर महतलाई आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा गएक हुन् । महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कास्की जिल्ला अदालतले तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ८ लाँगर्चे घर भएकी इन्स्पेक्टर महत फागुन १० गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीलगत्तै इन्स्पेक्टर जोशी पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाही पनि पक्राउ परेका थिए ।

उनी ईन्स्पेक्टर जोशीसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै इन्स्पेक्टर बनेकी थिइन् ।