
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्ता र प्रतिपक्ष दुवैस्तरबाट विरोध भएको छ ।
सत्तापक्ष नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सरकारको उक्त निर्णयको विरोध गर्दा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने लगायत विभिन्न दलमा आवद्ध नेताहरुले चर्काे विरोध गरेका हुन् ।
कांग्रेस महामन्त्री थापाले घिसिङलाई पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गर्नुभएको छ । सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्य समेत रहेका थापाले यस्तो टिप्पणी गर्नुभएको हो ।
यस्तै, अर्का महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताउनुभएको छ । उहाँले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको समेत बताउनुभयो । सरकारको निर्णयको ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङसमेत विरोधमा रहेको सार्वजनिक भएको छ । तामाङ विगतदेखि नै कुलमान हटाउन नहुने पक्षमा रहेपनि उर्जामन्त्री हटाउन डटेर लाग्नुभएको थियो ।
यस्तै, प्राधिकरणबाट कुलमान हटाउने निर्णयको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आपत्ति जनाउनुभएको छ । आफ्नो फेसबुक पेजमा उहाँले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको तत्कालीन सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्मरण गर्नुभयो ।
माओवादीका प्रवक्ता अग्नि सापकोटाले पनि सरकारको निर्णयको आलोचना गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि रास्वपाका सभापति लामिछानेले बत्ती निभाएर मैनबत्ती बालेर विरोध गर्नुभएको छ । उहाँले ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् भन्दै फेसबुक लाइभमा आएर बत्ती निभाएर मैनबत्ती बालेर सांकेतिक विरोध गर्नुभएको हो ।
कुलमानकै नेतृत्वमा देश लोडसेडिङमुक्त भएको थियो । कुलमान हटाउने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।