images
images

काठमाडौंको कलंकीमा दुई समूहबिच झडप, दोलखाका २२ वर्षीय युवकले गुमाए ज्यान

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एलआरई स्कुलनजिकै दुई समूहबिच झडप हुँदा एक दोलखाका एक युवकको मृत्यु भएको छ ।

झडपमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बस्ने २२ वर्षीय अभय भन्ने अबे गोले तामाङको मृत्यु भएको हो । हिजो साँझ करिब ७ बजे कलंकीको एलआरआई स्कुल नजिकै रहेको मेलिसा मार्गमा भएको दुई समूहको झडपमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा परि अन्य तीन जना घाईते भएका छन् । झडपका क्रममा धारिलो हतियार, मोटरसाइकलको सक र रड प्रहार भएको थियो । झडपमा मकवानपुर घर भई पुरानो नैकापमा बस्दै आएका चक्रे भन्ने पवन तामाङ, चन्द्रागिरि घर भएका २२ वर्षीय पासाङ तामाङ शेर्पा र नागढुङ्गा बस्दै आएका २३ वर्षीय सन्दीप भुजेल घाईते भएका छन् ।

उनीहरूको कलंकीको सहिद मेमोरियल अस्पताल र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको टाउको लगायत शरीरका अन्य भागमा चोटपटक रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक तमाङको हत्या आरोपमा प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ का २० वर्षीय डेनियल विश्वकर्मासहित १६ जनालाई पक्राउ गरेको छ ।

अझै केही फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।