images
images

वडाध्यक्षका उम्मेदवारका छोराको शंकास्पद मृत्यु

  • ११ जेष्ठ २०७९, बुधबार १०:३०

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका एक युवकको शंकास्पद मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुमा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलबहादुर बस्नेतका छोरा २४ वर्षिय यानबहादुर बस्नेतको शंकास्पद मृत्यु भएको हो । हिजो साँझ साँढे ६ बजे घरबाट निस्किएका बस्नेत अबेरसम्म पनि घर नफर्किएपछि स्थानिय र आफन्तले खोजी कार्यजारी राखेका थिए । हिजो देखि बेपत्ता भएका बस्नेत आज बिहान झयाकुस्थित सर्सेपु आधारभुत विद्यालय नजिकैको जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । बस्ती नजिकै रहेको विद्यालय भन्दा ५ सय मिटर पर उनको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष नेत्रबहादुर बस्नेतका अनुसार उनको अन्तै कुटपिट गरेर हत्या गरी सोे स्थानमा ल्याएर शव झुन्ड्याएको स्थानीयले आशंका गरेका छन् । मृतक बस्नेतको डोरी घाँटीमा नकसिएको, बिचमा डोरी ढुंगाले काटिएको जस्तो देखिएको भन्दै स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् । शवको प्रकृति हेर्दा उनको हत्या गरिए जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरिक्षक सानु तमाङको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको छ । मृतक बस्नेत अविवाहित पुरुष हुन् । उनी स्थानीय मानेडाँडा माविमा अकाउन्टेनको रुपमा काम गर्ने गर्दथे ।