images
images

बागमती प्रदेशमा घट्यो सवारी साधनको भाडा

  • ११ जेष्ठ २०८०, बिहीबार १०:०९

हेटौडा । बागमती प्रदेशमा सवारी साधानको भाडा समायोजन भएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो । हिजो बसेको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ । सुचना अधिकारी पौडेलका अनुसार आज राजपत्रमा प्रकाशित भएपछि घटाइएको भाडादर लागू हुनेछ ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ दशमलव ९ प्रतिशत घट्नेछ । यस्तै, मन्त्रालयले बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निर्णय गरेको छ । यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो ।